डेडिकेटेड र ट्रंक लाइन विवादः टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

डेडिकेटेड र ट्रंक लाइन विवादः टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौं, ३ मंसिर । सरकारले  'डेडिकेटेड तथा ट्रंक लाइन' विवादमा नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति बनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव सुरेश आचार्यका अनुुसार, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा.डा.अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । 

डेडिकेटेड र ट्र‌कलाइन विद्युत महसुल बक्यौता सम्बन्धी आवश्यक सत्यतथ्य विवरणरप्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्नेकार्यादेश समितिलाई दिइएको उनले जानकारी दिए । 

उक्त समितिमा नेपाल विद्युत् प्राधिकरणका पूर्वसञ्चालक श्रीरामराज पाण्डे र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्लेसमेत रहेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुरानै बिल सही भएकाले त्यही अनुसार १५ दिनभित्र भुक्तानी गर्नुपर्ने, नगरे फेरि लाइन काट्ने बताएका थिए ।

त्यसपछि यस मामलामा मन्त्रालयले हस्तक्षेप गरी टीओडी मिटरसमेतका आधारमा बक्यौताको प्रमाण संकलन तथा प्रमाणीकरणको जिम्मा दिएको हो ।