कीर्तिपुरका उम्मेदवार विरुद्ध परेन उजुरी
काठमाडौं, ३ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मंसिर २ गते (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज समय दिइएको थियो । दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरेको समयावधिमा कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् ।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जनाले उम्मेदवारी दर्ता गराएका थिए । वडा नम्बर १ र २ गरी २२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका उनले जानकारी गराइन् ।
दलगत रूपमा प्रमुख पदमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, जनमत, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल समाजवादी पार्टीले उम्मेदवारी दिएका छन् ।