उपनिर्वाचन: सडक र गाडी तयारी अवस्थामा राख्न स्थानीय तहलाई आयोगको निर्देशन

उपनिर्वाचन: सडक र गाडी तयारी अवस्थामा राख्न स्थानीय तहलाई आयोगको निर्देशन

काठमाडौं, ३ मंसिर । निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने बताउँदै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, आज (सोमबार) बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

त्यस्तै, मतदान केन्द्र तोकिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि आयोगले भनेको छ । 

आयोगले मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको अर्यालले विज्ञप्तिमार्फत जानकारी गराएकी छिन् । 

उपनिर्वाचनको काममा स्थानीय तहका कर्मचारी पनि परिचालन गर्न सकिने उल्लेख गर्दै आयोगले कर्मचारीको विवरण अद्यावधिक गरी राख्न र मागेको बेला उपलब्ध गराउन बताइएको छ । 

उपनिर्वाचनका बेला निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न, मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आयोगले अनुरोध गरेको छ ।