उपसचिव पदको बढुवा प्रक्रिया स्थगित (सूचनासहित)
काठमाडौं, ३ मंसिर। लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ जना उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगन गरेको छ ।
राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना रद्ध गरिएको सोमबार जारी सूचनामार्फत आयोगले जनाएको छ ।
उच्च अदालत पाटनले उक्त सूचना विरुद्ध परेको रिटमाथि १४ आत्तिकमा आन्तरिम आदेश जारी गरेको थियो ।
ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु उक्त सूचना न्यायसंगत नभएको भन्दै अदालत पुगेका थिए । उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
यसअनुसार, नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ ।
उच्च अदालत पाटनबाट रिट नं.०८१-०८३९ उपर मिति २०८१/०७/१४ मा भएको आदेश कार्यान्वयनको सिलसिलामा आयोगबाट मिति २०८१/०६/३० मा प्रकाशित नेपाल इञ्जिनियरिंग सेवाका रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका देहायका बढुवा सूचना र आ.प्र.तर्फका विज्ञापनको दरखास्त संकलन समेतका कार्यहरू आयोगको मिति २०८१/०८/०२ को निर्णयअनुसार स्थगित गरेको आयोगले जनाएको छ ।