ओलीबारे विवादित अभिव्यक्ति दिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी ओलीले विदेशमा अर्बौं लगानी गरेको भन्दै सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएको भन्दै आज (मंगलबार) भक्तपुरस्थित उनकै निवासबाट पक्राउ परेका हुन् ।
उनले कम्बोडियामा रहेका एक नेपालीसँग भिडियो कलमा कुरा गरेको र प्रधानमन्त्री केपी ओलीसहित उनी निकट उच्च अधिकारीहरुले कम्बोडियामा अर्बौं रुपैयाँ अवैध रुपमा लगानी गरेको प्रसाईंले आरोप लगाएका थिए ।
उक्त भिडियो सार्वजनिक भएको केही घन्टामै प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । यद्यपि, प्रसाईंले विदेशमा लगानी गरेको विषयमा पर्याप्त प्रमाण भने पुष्टि अहिलेसम्म गर्न सकेका छैनन् ।
प्रसाईंले सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख दीपक थापाले पुष्टि गरे ।
'भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं, सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’ उनले भने ।
उनलाई पक्राउ गरेर ब्युरोमा ल्याइएको थापाले जानकारी दिए । प्रसाईंले सामाजिक सञ्जालमा फैलाएको अफवाहको अध्ययन गरेर उनलाई पक्राउ गरिएको उनको भनाइ छ ।
यसअघि पनि प्रसाईंले प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुविरुद्ध सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएपछि उनलाई हिरासतमा लिएको थियो ।