अखिल क्रान्तिकारीका ३ नेता आमरण अनसनमा, निर्वाचनबाट नेतृत्व चयनको माग

अखिल क्रान्तिकारीका ३ नेता आमरण अनसनमा, निर्वाचनबाट नेतृत्व चयनको माग

काठमाडौं, ४ मंसिर । चुनावबाट नयाँ नेतृत्व चयनको माग राख्दैै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् ।

निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगानाले आज (मंगलबार) देखि आमरण अनसन थालेका हुन् । 

अखिल क्रान्तिकारीको स्थगित बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु गरी निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन हुनुपर्ने माग गर्दै केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरभित्रै आमरण अनसन बसेको निवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए ।

गत १० असोजदेखि काठमाडौंको कीर्तिपुरमा सुरु भएको २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हदको विषय विवादित बनेपछि नयाँ नेतृत्व चयन नगरी स्थगित भएको थियो । अध्यक्ष मण्डलको बैठकले स्थगित सम्मेलन मंसिर २३ र २४ गते गर्ने निर्णय लिएको थियो ।