चीनमा नेपाली चिया निर्यात
विराटनगर, ४ मंसिर । युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चियाको अद्भुत स्वाद दिँदै आइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक उत्तरी छिमेकी देश चीनमा चिया निर्यात सुरु गरेको छ ।
चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात हुन थालेपछि पूर्वका चिया उद्यमी हर्षित भएका छन् ।
गोर्खा टी इस्टेटले औपचारिक रूपमा निर्यात गरेको पहिलो पटक हो । चिनियाँ व्यवसायीले यसअघि व्यक्तिगत रूपमा किनेर लैजाने गरेका थिए ।
आइतबार पूर्वी नाकाबाट कोलकाता हुँदै करिब ७० लाख मूल्यको ६ हजार ३ सय ६२ किलो चिया चीन निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको हो ।
गोर्खा टी इस्टेटका संस्थापक उदय चापागाईंले पछिल्लो समय चीनले नेपाली चियाप्रति चासो देखाउँदै आएको बताएका छन् ।
चिया चीन निर्यात गर्न चापागाईंले तीन वर्षदेखि निरन्तर प्रयास गरिरहेका थिए । प्रयोगशालामा परीक्षण लगायत सबै प्रक्रिया पूरा गरेर चिया पठाइएको उनले बताए । भविष्यमा नेपाली चियाका लागि गेट वे चीन बन्नसक्ने उनले बताए ।
उनले चीनमा पर्याप्त चिया पठाउन सकियो भने भारतको एकाधिकार पनि तोडिन सकिने धारणा पनि राखे ।
नारायण खड्का परराष्ट्रमन्त्री भएका बेला नेपाली चिया किन्न चीनले तत्परता लिएको थियो । नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गरिरहेको चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ ।
चीनले चिया किन्न थालेपछि भारत मात्रैको भर पर्नुपर्ने बाध्यता हट्ने भन्दै चापागाईंले गुणस्तरयुक्त चिया उत्पादन गरेमा चीन किन्न तयार देखिएको पनि बताए । अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको माग निकै रहेको देखिन्छ ।
विशेषगरी भारतपछि जर्मनी, जापान जस्ता देशमा नेपाली चियाको उच्च माग छ । केही समयअघि चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उत्पादनले ‘ग्रान्ड गोल्ड मेडल’ समेत पाएपछि चिया उद्यमी थप उर्जा थपिएको छ ।
नेपाली उद्यमीलाई चिनियाँ व्यापारीसँग जोड्न सरकारले सघाउनुपर्ने उद्यमी चापागाईंको धारणा छ ।
चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार, नेपालमा झण्डै १७ हजार हेक्टर जमीनमा चियाखेती हुन्छ, जसबाट वार्षिक २३ हजार ७ सय ४५ टन चिया उत्पादन हुने गर्दछ । चियामा १७ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिक प्रत्यक्षरुपमा संलग्न रहेका छन् ।