स्वर्णलक्ष्मी सहकारी ठगी: रम्तेललाई कास्की पठाइयो, छबिलाई आजै काठमाडौं ल्याउने तयारी
काठमाडौं, ४ मंसिर । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका कुमार रम्तेललाई फेरि पोखरा पठाइएको छ । बयानका लागि शनिबार काठमाडौं ल्याइएका रम्तेको बयान सकिएपछि हिजो (सोमबार) साँझ पोखरा फिर्ता गरिएको हो ।
रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको जिल्ला प्रहरी परिर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।
उक्त सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान गराएको हो ।
रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।
उनलाई पोखरा पठाएसँगै आजै कास्की प्रहरी थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ ।
काठमाडौं परिसर स्रोतका अनुसार, आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने प्रहरी तयारी छ ।
गत आइतबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा छवी र रविविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।