विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद
काठमाडौं, ४ मंसिर । प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ ।
प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज (मंगलबार) दिउँसो पक्राउ गरेको थियो ।
त्यसक्रममा उनको घरमा खनतलासी गरी ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होविन्द्र बोगटी पुष्टि गरे ।
सीआईबीका एसपी बोगटीका अनुसार, विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको हो ।
बरामद गरिएका ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।
प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी रहेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि देखाएका थिए ।
प्रहरीको प्रारम्भिक छानबिनका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको निष्कर्ष निकालेको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका थिए ।
प्रहरीले प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ । सीआईबीले थप अनुसन्धानका लागि उनलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ ।