संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारीमा १५६ जनाले दिए आवेदन

संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारीमा १५६ जनाले दिए आवेदन

काठमाडौं, ५ मंसिर । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा कूल १ सय ५६ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ । आवेदकहरुमा उच्च अदालतका पूर्वन्यायाधीशसमेत छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार मंसिर ४ गतेको अन्तिम समयसीमाभित्र भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको सिफारिसमार्फत् ४७ आवेदन परेका छन् ।

कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालले अध्यक्ष पदमा ३१ जनाको आवेदन परेको जानकारी दिए । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् ।

२०७९ साउनदेखि आयोग पदाधिकारीविहीन बनेको थियो । त्यसैले नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन खुला गरेको थियो ।