मंसिर ८ र ९ गते काठमाडौंमा सातौं ‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’

मंसिर ८ र ९ गते काठमाडौंमा सातौं ‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’

काठमाडौं, ५ मंसिर ।  ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ को सातौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा यस फेस्टिभलको आयोजना गर्न लागेका हुन् ।

काउन्सिलमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गरेका छन् ।

सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य भएको बताइएको छ । 

फेस्टिभल आउँदो मंसिर ८ र ९ गते (नोभेम्बर २३ र २४ तारिख) आयोजना हुनेछ । दुई दिने फेस्टिभलमा तीन वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ । ५ वटा भन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुति हुनेछन् । कम्तीमा ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा १ सयजना भन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।

यस्तै, कार्यक्रममा उपप्रमुख डंगोलले नेपाली महिलाहरुको सहनशीलतासँग सम्बन्धित नभनिएका, नसोधिएका र नसमेटिएका कथाहरु प्रदर्शनलाई जोड दिइने बताइन् । गएको जेठ महिनामा बेलायतमा आयोजना भएको सम्मेलनमा भाग लिएको अनुभव सुनाइन् ।

उनले भनिन्– ‘महिलाको अर्थपूर्ण सहभागिताका लागि नेतृत्वमा रहेका महिलाहरुबाट प्रेरणा प्राप्त भएको छ । यसका आयाम धेरै छन् । तीमध्ये राजनीतिक सक्रियताले पनि सशक्तिकरण प्रदान गर्छ ।’

कार्यक्रममा बोल्दै नेपालका लागि वेलायतका राजदूत रोब फेनले फेस्टिभलबाट महिलाहरुलाई नेतृत्वदायी स्थान सम्मको यात्रा तय गर्ने हौसला प्राप्त हुने अपेक्षा गरे ।

यस्तै, कन्ट्री डाइरेक्टर साहिदाले महानगरपालिकासँगको सहकार्यमा आयोजना गरिने संस्करणले नयाँ आयाम सिर्जना गर्ने बताइन् । 

गएको जेठ महिनामा उपप्रमुख डंगोलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’ मा सहभागिता जनाएको थियो ।

उपप्रमुख डंगोलले अन्तरराष्ट्रिय कार्यक्रममा महिलाको नेतृत्वमा महिलाहरु मात्र सहभागी भएको प्रतिनिधि मण्डल काठमाडौं महानगरपालिकाको इतिहासमा पहिलो हुने बताइन् ।

सम्मेलनमा महिलाहरुका पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक लगायत विविध भोगाइका विषयमा अनुभव आदान–प्रदान हुने गरेको छ । सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका वक्ताहरुलाई बोलाइन्छ ।