एनपीएलको सर्वोत्कृष्ट खेलाडी बने दीपेन्द्र, पाए कार पुरस्कार

एनपीएलको सर्वोत्कृष्ट खेलाडी बने दीपेन्द्र,  पाए कार पुरस्कार

काठमाडौं, ६ पुस । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार प्राप्त गरेका छन् ।

सुदूरपश्चिमलाई आफ्नो नेतृत्वमा फाइनलसम्मको यात्रा तय गरेका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी पाएका हुन् ।

उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार हात पारेका छन् ।

ललित राजवंशी र रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले पाउन सफल भए । टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ, बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडी हुन् उनी ।

क्वालिफायर वान मा सुदूरले जनकपुरलाई पराजित गरेपछि प्लेअर अफ दि म्याच बनेका सुदूरका खेलाडी विनोद भण्डारीले पनि दीपेन्द्र नै अहिले बेस्ट प्लेअर भएको प्रतिक्रिया दिएका थिए ।

एनपीएलमा दीपेन्द्रले ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन जोडेका थिए ।उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए ।

त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका उनले लुम्बिनीविरुद्ध अविजित ४३ रन बनाए ।

चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् । पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए  ।

दीपेन्द्रले बलिङमा ९ खेलमा कुल ९ विकेट नै लिए । फाइनलमा भने दीपेन्द्र चल्न सकेनन् ।