रविविरुद्ध ३ कसुरमा अदालतमा मुद्दा दर्ता

रविविरुद्ध ३ कसुरमा अदालतमा मुद्दा दर्ता

काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको अभियोगमा मुद्दा दर्ता गरिएको छ । 

सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरेर आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।

सहकारीको रकम अपचलन गर्नका लागि संगठितरुपमा काम गरेको आरोप उनीहरुमाथि संगठित आरोपमा समेत मुद्दा दायर गरिएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अनियमितता  र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर गरिएको हो । 

सूर्यदर्शन सहकारीको ठगी गरेको आरोपमा प्रहरीले १८ असोज, २०८० मा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको थियो, जसमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायतहरु हिरासतमा छन् । उनीहरुमाथि झण्डै एक अर्ब ११ करोड रुपैयाँ विगो मागदावी गरिएको थियो । 

शुक्रबार उनीहरुमाथि संगठित अपराध गरेको अनि आर्जित रकम शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर भइसकेको छ । मुद्दाको सुनुवाइ गर्दा अब जिल्ला अदालतले फेरि उनीहरुको पनि बयान गराइनेछ ।