मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
काठमाडौं, ८ पुस । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।
आज बिहान उनी जोरपाटीस्थित आफ्नै निवासमा सुतेकै स्थानमा मृत अवस्थामा भेटिएकी पारिवारिक स्रोतले जानकारी दियो ।
उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा भेटाएका थिए । त्यसपछि अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण भने खुलेको छैन ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् ।
अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीमा उनलाई राखेको थियो । अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मानित समेत गरेको थियो ।