रविसहित पाँच जनालाई बयानका लागि अदालत उपस्थित गराइयो

रविसहित पाँच जनालाई बयानका लागि अदालत उपस्थित गराइयो

काठमाडौं, ८ पुस । रास्वपाका सभापति रवि लामिछानेसहित ५ जना प्रतिवादीलाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्वगृहमन्त्री लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएकाले आजदेखि बयान सुरु भएको छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।  

आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको र त्यसपछि बल्ल थुनछेक बहस हुने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । 

थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय लिनेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।

सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले थुनामा पठाउने अभ्यास छ । तर, आरोपको गम्भिरता, प्रमाणको सान्दर्भिकता एवं आरोपित हिरासतबाट बाहिरिएमा उसले मुद्दामा पार्नसक्ने प्रभाव लगायतका आधारमा न्यायाधीशहरूले उपयुक्त आदेश दिने गर्छन् । 

जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने संसद् पदबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहेको छ ।

सरकारी वकिलको कार्यालय, कास्कीले संघीय संसद सचिवालयलाई पत्राचार गरेर लामिछानेको निलम्बनवारे औपचारिक सूचना दिएको छ । जिल्ला अदालतमा मुद्दा नटुङ्गिदासम्म उनी निलम्बनमा हुनेछन् ।

जीबी राई आवद्ध विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा रकम प्रवाह भएको थियो । ती सहकारीहरूको बचत दुरूपयोग गरेको आरोपमा अहिले उक्त समूहमाथि मुद्दा दायर भएको हो । आरोप लागेका गोर्खा मिडियाका प्रमुख समेत रहेका राई हाल फरार छन् ।

रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरिएको छ ।

संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।

प्रहरीले सहकारीको रकम व्यक्तिगत रूपमा अनि गोर्खा मिडियामा संस्थागत रूपमा समेत अपचलन गरेको आरोपमा जीबी राई, छविराज जोशी अनि रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ ।