नक्कली बुवा बनेर बहुविवाह गराएको अभियोगमा एक जना पक्राउ
काठमाडौं, ८ पुस । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली विवाह गराइएको पाइएको छ । उक्त प्रकरणमा संलग्न रहेको आरोपमा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐरलाई पक्राउ गरिएको जानकारी दिए । ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको उनले बताए ।
ऐर पेशाले इन्जिनियर हुन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोनमा वार्ता गरेर बहुविवाह गराउन सहयोग गरेकोे आरोप उनीमाथि लागेको छ ।
मालीले ३१ वर्षीया युवतीलाई झुक्याएर २२ मंसिरमा विवाह गरेका थिए । उनले आफू इन्जिनियर भएको र अमेरिकाको भिसा समेत लागिसकेको भन्दै युवतीसँग कुराकानी गरेका थिए ।
तर, पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो । कञ्चनपुरकी युवतीसँग बिहे भइसकेपछि उनको पहिले नै बिहे भइसकेको टिकटकमार्फत् खुलेको थियो ।
जेठी श्रीमतीको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले मालीलाई पक्राउ गरेर बहुविवाह मुद्दा अगाडि बढाएको छ ।
यस घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई पनि प्रहरीले गिरफ्तार यसअघि नै गरिसकेको छ ।
प्रहरीले धामी र ऐरलाई मतियार बनाएर अनुसन्धान गरिरहेको छ ।