मितेरी सहकारी ठगी प्रकरण: ज्योति गुरुङविरुद्ध इन्टरपोलमा 'रेड नोटिस' जारी गराउने तयारी

मितेरी सहकारी ठगी प्रकरण: ज्योति गुरुङविरुद्ध इन्टरपोलमा 'रेड नोटिस' जारी गराउने तयारी

काठमाडौं, ६ कात्तिक । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजी कार्यका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग पनि लिइने भएको  छ । 

यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई औपचारिक पत्रचार गरेको छ ।

ब्यूरोका एसपी होविन्द्र बोगटीले उनीहरु विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरिएको जनाकारी दिए ।

सीआईबीको पत्र अनुसार अब प्रहरी प्रधान कार्यालयको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र पठाउने तयारी गरेको छ ।

इन्टरपोलबाट नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनीहरुको  खोजी कार्यमा मद्दत गर्नेछन् ।