रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणीः दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं

रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणीः दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । रास्वपाले संसदीय छानबिन समिति र संसदको अपमान गरेको आरोप समेत उनले लगाएका छन् ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिबारदेखि पोखरामा विरोध प्रदर्शन जनाउँदै आइरहेको छ ।

त्यसै सन्दर्भलाई इंकित गर्दै शर्माले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् – ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ, ‘प्रचलित कानुन बमोजिम कार्वाही गर्नु’ तर प्रक्रिया शुरुभएपछि– ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसदकै अपमान होइन र ?’

रास्वपाको प्रदर्शनलाई न्यायालय प्रभावित गर्ने ‘भ्रम–प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’ भन्दै शर्माले प्रश्न समेत गरेका छन् ।

‘कांग्रेसका दुई–चार, एमालेका दुई–चार, माओवादी, राप्रपा र रास्वपाका दुई–चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं ।’ उनले अगाडी थप्दै भनेका छन् ।