सरकारको १०० दिन: खुसी देउवा, सन्तुष्ट ओली

सरकारको १०० दिन: खुसी देउवा, सन्तुष्ट ओली

काठमाडौं, ७ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन सन्तोषजनक रहेको बताएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरुमा प्रधानमन्त्री ओलीले एक सय दिनको  समीक्षा सुनाएका हुन् ।

शेयर बजारमा आएको सुधारसहित अरु सूचक देखाएर उनले अर्थतन्त्र लयमा समाउन थालेको बताएका छन् । बाढी पहिरो लगायतका जनसरोकारका विषयमा पनि सरकारले काम गरिरहेको ओलीले उल्लेख गरे ।

सुशासनमा पनि केही काम भएको उनले बताएको सहभागी एक नेताले जनाकारी दिए । त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि पनि कारबाही हुन्छ ।’

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिका मुद्दामा सत्तारुढ दलहरुको साझा धारणा बनाउनु पर्नेमा समेत जोड दिए ।

सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् ।‘प्रधानमन्त्रीले १०० दिन सन्तोषजनक छ भन्नुभयो, कांग्रेस सभापतिले एकदम ठीक छ भनेर सही थप्नुभयो ।’

सत्ता गठबन्धनको बैठकमा सहभागी एक नेता भन्छन् ।  सुरुको १०० दिन सरकारका ‘हनिमुन पिरियड’ भएको भन्दै उनले विपक्षीहरुले विरोध गरेर अनावश्यक भ्रम सिर्जना गर्न खोजेको बताए । 

प्रधानमन्त्री ओलीले आजै दिउँसो ३ बजे देशबासीलाई सम्बोधन गरेर सरकारको १०० दिनको कामबारे जानकारी दिने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।