सडकबाट सरकारलाई खबरदारी गर्छौं: उपाध्यक्ष सापकोटा

सडकबाट सरकारलाई खबरदारी गर्छौं: उपाध्यक्ष सापकोटा

काठमाडौं, ७ कात्तिक। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारले गरेका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेको बताएका छन् ।

बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन् । 

‘सरकार नाङ्गो रुपमा नै दलाल पुँजीपतीको पक्षमा खुल्मखुला लाग्यो,’ माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका मीन बहादुर गुरुङसँग १० रोपनी जग्गा र भवनसम्म लिनेसम्म आउँदा सरकारको सुशासन छरपस्ट भएको छ ।’

नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरण, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप, बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रण तथा सहकारी, मिटरव्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि शसक्त रुपमा आवाज उठाउने माओवादी केन्द्रले बताएको छ ।