भारतबाट आयातित १२ टन दाल अखाद्य भएको पत्ता लागेपछि उतै फिर्ता

भारतबाट आयातित १२ टन दाल अखाद्य भएको पत्ता लागेपछि उतै फिर्ता

काठमाडौं, ७ कात्तिक ।  भारतबाट नेपाल आयात गरिएको १२ टन दाल अखाद्य भएको थाहा भएपछि उतै फिर्ता गरिएको छ ।

व्यापारिक प्रयोजनका लागि बाँके कोहलपुरको प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले ४ कात्तिकमा नेपालगञ्ज भन्सार नाकामा ल्याएको दाल अखाद्य फेला परेको थियो । 

नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षणका दौरान दालमा ‘कोल टार डाई’ रङ मिसावट गरेको भेटिएपछि आयात गर्न नमिल्ने प्रतिवेदन तयार भएको थियो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार उक्त प्रतिवेदनपछि हिजो (मंगलबार) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालगञ्ज भन्सार कार्यालयलाई भारतमै फिर्ता गर्न लगाएको हो ।

नेपालमा कुनै पनि किसिमका दालमा वाह्य रङ प्रयोग गर्न प्रतिबन्धित रहेको उनले जानकारी दिए ।

खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुले अनिवार्य रुपमा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा कानूनी प्राबधान रहेको छ ।