भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने

काठमाडौँ, ७ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् । 

रूसी शहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देशबीच बैठक हुनेछ । 

“ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी जिङपिङबिच द्विपक्षीय बैठक हुनेछ”, भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी विक्रम मिस्रीले मङ्गलबार बताए । 

सन् २०१९ को अक्टोबरमा सीले भारतीय सहर महाबलीपुरम भ्रमण गर्दा विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देशका नेताबीच अन्तिम पटक आमनेसामने औपचारिक वार्ता भएको थियो । 

वार्ताको केही महिनापछि, सन् २०२० मा हिमालय क्षेत्र लद्दाखको विवादित सीमामा दुई देशबीच भएको झडपपछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो  जसमा कम्तिमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए । 

चीन र भारतले एकअर्कालाई ’लाइन अफ एक्चुयल कन्ट्रोल’ भनेर चिनिने आफ्नो अनौपचारिक विभाजनको क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउदै आएको छ । 

मोदी र सीले सन् २०२२ मा इन्डोनेसियाको बालीमा जी–२० नेताहरूको बैठक र सन् २०२३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा छोटो भेटवार्ता गरेका थिए ।

तथापि, भारतले आफ्नो लद्दाख सीमामा द्वन्द्वपूर्वको यथास्थिति पुनर्स्थापित नगरेसम्म सम्बन्ध सामान्य हुन नसक्ने बताएको छ ।