१६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा ८ जना पक्राउ

१६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा ८ जना पक्राउ

विराटनगर, ८ कात्तिक ।  प्रहरीले १६ वर्षकी बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने क्रममा सुनसरीमा ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक पनि रहेका छन् 

धनकुटा छ थर जोरपाटी–२ की १६ वर्षकी बालिकालाई सुनसरीको औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने ठाउँका बासिन्दा ३३ वर्षीय लि टेङ नाम गरेका  चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दाउनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी,  सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो । 

नेपालको कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी प्राबधान रहेको छ । मुलुकी देवानी संहिता २०७४ म‍ा यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था समेत रहेको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।