पाटन प्रिमियर लिगः पञ्चेश्वर अन्तिम चारमा सुरक्षित
बैतडी, १३ कात्तिक । यहाँको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेल सम्पन्न भएका छन् । सुपर सिक्सका खेलबाट चार समूह सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा पञ्चेश्वर गाउँपालिकाको टोली लगातार दोस्रो उत्कृष्ट जीतका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा सुरक्षित हुने क्रममा पञ्चेश्वरले कुलगडे क्रिकेट क्लबमाथि दुई सय २४ रनको जीत निकाल्यो ।
पञ्चेश्वरले दिएको तीन सय रनको विशाल लक्ष्य पछ्याएको कुलगडे १२।५ ओभरमा ७५ रनमा समेटियो । कुलगडेका विवेक चन्दले ३९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पञ्चेश्वरका हिक्मत महराले चार, भोजराज भट्ट र दिनेश महराले दुई÷दुई विकेट हात पारे ।
यसअघि श्रीकृष्ण मावि पाटनको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ९९ रन बनायो । पञ्चेश्वरका वसन्त कार्कीले शतकीय पारी खेल्दै एक सय ४५ रनमा अविजित रहे । वसन्तले हिर्काएको रन पाटन प्रिमियर लिगमा इतिहासको दोस्रो व्यक्तिगत उच्च अङ्क रहेको आयोजकले जनाएको छ ।
यसअघि पञ्चेश्वरका अभिषेक पालले एक सय ६५ रन बनाउँदै कीर्तिमान बनाएका थिए । सोमबारको खेलमा अभिषेकले २८, वीरेन्द्र नाथले २१, सुनील चन्द ३३, नरेश चन्दले ३८ रन जोडे । कुलगडेका सुरज ठगुन्नाले दुई विकेट लिए ।
पञ्चेश्वर समूहबाट आयोजक पाटन क्रिकेट क्लब उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिए । द्वितीय पुरस्कार ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
‘म्यान अफ द सिरज’ वाफत १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘बेस्ट बलर’ र ‘ब्याट्सम्यान’लाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चन्दले जानकारी दिए ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।