सीतापाइला–धार्के सडक फेरि १५ दिनका लागि बन्द
काठमाडौं, २२ कात्तिक । काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने सडक फेरि १५ दिन बन्द गरिने भएको छ । कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको बताउँदै धार्के–सितापाइला सडकखण्ड यसअघि कात्तिक ४ गतेदेखि बन्द गरेको थियो ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले कात्तिक २१ गते जारी गरेको पछिल्लो सूचनामा कात्तिक २३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुने बताइएको छ ।
उक्त अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चारपांग्रे) बाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पूर्णरुपमा रोक लगाइएको जनाइएको छ ।
वैकल्पिक रुपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के–नौबिसे–नागढुंगा सडक प्रयोग गर्न सकिने धादिङ प्रशासनले जनाएको छ ।