उपचारको क्रममा डोटीमा ९ वर्षीया बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

उपचारको क्रममा डोटीमा ९ वर्षीया बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

 काठमाडौं, २२ कात्तिक । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारकै क्रममा  एक बालिकाको ज्यान गएको छ ।

बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा निधन भएको हो । 

बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया लगाइएको थियो । तर बालिका त्यसपछि होसमा फर्किइनन् ।

बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माले बताए ।

 उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै स्थानीय बासी र मृतकका आफन्त अस्पताल तोडफोडमा उत्रिए । अस्पतालमा थप क्षति हुन नदिन तथा घटनाको अनुसन्धानका लागि प्रहरीले उपचारमा सम्लग्न चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चिकित्सकहरु डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।