२५ हजार मेट्रिक टन डीएपी मल ल्याउन सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पायो जिम्मा

२५ हजार मेट्रिक टन डीएपी मल ल्याउन सिंगापुरको आदित्य बिर्ला ग्लोबल ट्रेडिङले पायो जिम्मा

काठमाडौं, २२ कात्तिक । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने जिम्मा सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।

आज (बिहीबार) एक सूचना सार्वजनिक गर्दै कृषि सामग्री कम्पनीले करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का दिइएको जनाएको हो । 

वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको कृषि सामग्री कम्पनीले लिमिटेडका सूचना अधिकारी पुन्यप्रसाद उपाध्यायले जानकारी दिए । 

‘यो वर्ष अभाव हुन नदिने गरी मल आइरहेको छ । अहिले डीएपी मल किन्न पनि ठेक्का लगाएका हौं, प्रत्येक महिना जसो ग्लोबल टेन्डर मार्फत ठेक्काको काम भइरहेको छ ।’  सूचना अधिकारी उपाध्यायले भने । 

आर्थिक वर्ष २०८१/८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९  टन मल आयात भइसकेको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, गत आथिर्क वर्ष २०८०/८१ को मौज्दातसहित अहिले १ लाख ४४ हजार ८ सय २५ टन मल भण्डारमा रहेको छ ।

चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।