अब साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

अब साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

काठमाडौं, २२ कात्तिक । साउदी अरेबियामा रोजगारी गर्दै आइरहेका विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझेको खण्डमा स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) बदल्न २ महिनाको समय (ग्रेस अवधि) पाउने भएका छन् ।

साउदी सरकारका निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले सो सुविधा पाउन सक्नेगरी त्यहाँको सरकारले नीति ल्याएको छ । 

साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गरेर रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्ने गरी नयाँ नीति तर्जुमा गरिरहेको छ । 

घरेलु श्रमिक आएको पहिलो २ वर्षभित्र सम्झौता भंग गरेमा त्यसको ६० दिन अर्थात दुई महिनाभित्र देश छाड्नुपर्ने व्यवस्था त्यहाँको मानव संशाधन मन्त्रालयले गरेको छ ।

यस्तै, कुनै रोजगारदाताकोमा काम गर्ने श्रमिकले २ वर्षपछि आफैं काम गर्न छाडेमा ६० दिनभित्र नयाँ रोजगरदाता खोज्न र परिवर्तन गर्न पाउनेछन् ।

नेपाल सहितका श्रमिक पठाउने मुलुकले साउदी अरेबियाको श्रम कानुन र त्यहाँ घरेलु श्रमिकमाथि हुने गरेको शोषण देखाउँदै विभिन्न प्रतिबन्धात्मक नियम लगाएका छन् । जसकारण घरेलु श्रमिकको माग उच्च हुँदा पनि आपूर्ति प्रभावित भएपछि साउदी अरेबियाले श्रम कानुनमा सुधार गर्न खोजिरहेको छ । 

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको निर्देशनका आधारमा नेपाल सरकारले ९ वर्षदेखि घरेलु श्रमिकका रुपमा विदेश जान श्रम स्वीकृति अस्वीकृत गरेको छ । 

साउदीले श्रम वार्ताका क्रममा घरेलु श्रमिक लैजाने मुद्दालाई प्राथमिकतामा राख्ने गरेको छ । तर,नेपालले घरमा काम गर्ने श्रमिक रोजगारदाताबाट मानसिक, शारीरिक र आर्थिक शोषणमा परेको कारण देखाउँदै  महिला श्रमिकको हकमा लागू हुने गरी श्रम समझदारी नभएका देशमा नपठाउने नीति लिएको छ । 

यद्यपी, गैरकानूनी बाटो प्रयोग गरी साउदी अरेबीया घरेलु कामदारका रुपमा  जानेक्रम भने रोकिएको छैन् । 

नेपालबाट जाने घरेलु श्रमिकको हित रक्षाका लागि आफूहरु प्रतिवद्ध रहेको भन्दै साउदी सरकारका प्रतिनिधिहरुले छिटो घरेलु श्रमिकलाई साउदी जान दिन आग्रह गर्दै आएका छन् ।

नेपाल सरकारले भने घरेलु श्रमिकको सुरक्षाका लागि आधारभूत रुपमा राखेका शर्तको पालना गर्ने सुनिश्चितता हुनुपर्ने बताउँदै आएको छ ।