नाग्म–गमगडी सडक कालोपत्र गर्न माग

नाग्म–गमगडी सडक कालोपत्र गर्न माग

जुम्ला, २२ कात्तिक । जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन माग गरिएको छ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रारा तालसम्म जाने नाग्म–गमगडी सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनमा समस्या भइरहेको भन्दै तत्काल कालोपत्र गर्नुपर्न माग गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले यहाँसम्म पुग्ने पर्यटकलाई यात्रा गर्न सास्ती भइरहेकाले तत्काल कालोपत्र गरेर यात्रा सहज र सुरक्षित बनाउन सङ्घीय सरकारसँग माग गरिएको बताए ।

बुधबार बसेको पालिकास्तरीय सर्वपक्षीय बैठकले नाग्म–गमगडी सडकको सुरुको बिन्दुबाट कालोपत्रको काम अगाडि बढाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

“उक्त खण्डको बीच भागमा कालोपत्र गरिएको छ । सुरुको विन्दुमा खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य भइरहेकाले तत्काल कालोपत्र सुरु गर्न मागसहित अनुरोध गर्ने निर्णय गरेका छौँ”, अध्यक्ष शाहीले भने । सुरुबाट कालोपत्र हुनुपर्नेमा बीचमा केही किलोमिटर मात्रै कालोपत्र गरिएकाले थप समस्या भइरहेको उनले बताए ।

अध्यक्ष शाहीले भने, “नाग्मबाट गमगडीसम्मको ९३ किलोमिटरमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पर्यटकलाई उक्त सडक भएर आवतजावत गर्न सास्ती भइरहेको छ । सो सडकका केही भागमा खाल्डाखुल्डी हुँदा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको जनगुनासो आइरहेका छन् ।” ​​​​​

पालिकाभित्रका विभिन्न राजनीतिक दलहरुको साँझा बैठक आह्वान गरेर नाग्म–गडी सडक कालोपत्र गराउन राज्यसँग पहल गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए । “सडक डिभिजन कार्यालयलाई कालोपत्र सुरुको विन्दुबाट गर्न माग गर्दछौँ । स¬ङ्घ र प्रदेश सरकारलाई बजेट व्यवस्थापनको लागि आग्रह गरेका छौँ”, उनले भने ।

सडकमार्ग हुँदै राराताल आउने, जाने पर्यटकको यात्रा सहज र सुरक्षित बनाउन राज्यको ध्यान जान नसकेको भन्दै तत्काल सडक सुधार गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थानीय नेता अम्मराज शाहीले बताए ।

“विसं २०६९ देखि सञ्चालनमा आएको यो सडकमा हालसम्म छ किलोमिटर सडकको बीचको खण्डमा मात्रै कालोपत्र भएको छ । तत्काल सुरुको विन्दुबाट कालोपत्र गरी आवागमन सहज बनाउन सबैले समन्वय र सहयोग गर्नु आवश्यक छ”, उनले भने ।

सडक डिभिजन कार्यालय जुम्लाले बजेट अभावका कारण कालोपत्र गर्न कठिन भइरहेको जनाएको छ । सर्वपक्षीय बैठकले सडक कालोपत्रका साथै सामाजिक कुरीति र कुसंस्कार विरुद्ध एैक्यबद्धता जनाउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ । विसं २०७९ मा आएको बेमौसमी बाढीले राजमार्गमा क्षति पुर्‍याएको थियो ।