सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौला: न्यायिक सुशासनका लागि निगरानी संयन्त्र आवश्यक

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौला: न्यायिक सुशासनका लागि निगरानी संयन्त्र आवश्यक

काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले न्यायपालिकामा हुने सुशासन विपरितका गतिविधिमाथि प्रभावकारी अनुगमन र निगरानीको संयन्त्र गठन हुनुपर्ने अवधारणा प्रस्तुत गरेका छन् ।

शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै उनले सुशासन विपरीतका गतिविधिमाथि निगरानी गर्ने न्यायिक नेतृत्वको कार्ययोजनामा आफूले सहयोग गर्ने भनी कार्ययोजना प्रस्तुत गरेका हुन् ।

न्यायपालिकाको स्वतन्त्रता, स्वायत्तता लगायत न्यायिक मूल्यमान्यताका मापदण्डको विकास र कार्ययोजनामा आफूँले जोड दिने बताउँदै उनले कार्ययोजनामा अगाडी भनेका छन्, ‘अदालतमा बिचौलियाको नियन्त्रणका लागि छुट्टै कानून निर्माणका लागि पहल गर्ने भन्ने प्रधानन्यायाधीशले समितिमा पेश गरेको कार्ययोजनाको कार्यान्वयनमा मेरो सकारात्मक र सहयोगी भूमिका रहनेछ ।’

मातहलको अदालतको निरीक्षण, कामकारवाहीको अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत र सामूहिक पहलबाट न्याययिक सुशासन कायम गर्ने काममा आफू सहयोगी बन्ने प्रतिवद्धता समितिसमक्ष राखेका छन् ।