जाजरकोट दुर्घटना अपडेट: ९ जना गम्भीर घाइतेलाई सुर्खेत ल्याइँदै
सुर्खेत, २६ कात्तिक । जाजरकोटमा भएका बेग्लाबेग्लै दुई वटा सवारी दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई थप उपचारका लागि सुर्खेत ल्याउने तयारी भएको छ ।
आज (सोमबार) दिउँसो भएको दुई सवारी दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको हो ।
जिल्लाको भेरी नगरपालिका–१३ कदुमा भएको माइक्रोबस दुर्घटनामा २५ जना घाइते भएका छन् भने जिल्लाकै नलगाड नगरपालिकास्थित बाउसेखोलामा भएको दुर्घटनामा ७ जना घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेका अनुसार, दुई वटै सवारी दुर्घटनामा परी ३२ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाउने तयारी भइरहेको छ ।
भेरीका ७ र नलगाड दुर्घटनाका २ जना गम्भीर घाइते भएका छन्’, डीएसपी पाण्डेले भने, ‘उहाँहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाउने तयारी भइरहेको छ ।’
अन्य सामान्य घाइते भएको उनीहरूको उपचार जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको उनले बताए ।
जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको माइक्रोबस कुदु नजिक दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ ।
त्यस्तै, शुक्रबार दिउँसो नै बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको जिप नलगाड नगरपालिका–४ बाउसे खोलामा दुर्घटना भएको जनाइएको छ ।