रगत अभाव हुन नदिन सरकारको नीति: 'एक अस्पताल, एक रक्तसञ्चार केन्द्र'
काठमाडौं, २८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको गुणस्तर सुधार र सहज उपलब्धताका लागि ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति बनाउने भएको छ ।
रगतको गुणस्तरमा देखिएका समस्या समाधान गर्न यो नीति ल्याइएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जानकारी दिए । रगतको गुणस्तर, मापदण्ड निर्धारण गर्न मन्त्रालयले छुट्टै समिति गठन गर्न लागिएको मन्त्री पौडेलले बताए ।
उनका अनुसार, जनस्वास्थ्य सेवा नियमावली २०७७ ले २५ शैयाभन्दा बढी क्षमता भएका अस्पतालमा रक्तसञ्चार सेवा अनिवार्य गरे पनि हाल धेरै ठूला अस्पतालहरूले समेत बिरामीलाई अन्य रक्तसञ्चार केन्द्रमा पठाउने गरेका छन् ।
‘रक्तदानको दर निकै कम छ र आम नागरिकलाई यसतर्फ प्रोत्साहन गर्नु आवश्यक छ,’ उनले भने । गठित समितिले रगत संकलन केन्द्रहरूको व्यवस्थापन र मापदण्डको अनुगमन गर्नेछ र एक महिनाभित्र प्रतिवेदन बुझाउने भनिएको छ ।
हाल रक्तसञ्चार केन्द्र र अस्पतालहरूबीच समन्वयको अभाव रहेको छ । विगतमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रहरू लगातार सञ्चालनमा आउन नसक्दा पटक–पटक रगतको कमी हुने गरेको छ ।
त्यसैगरी, बिरामी आफैं रगत खोज्न जाने भएकाले ब्लड ब्याकदेखि अस्पतालसम्म पुर्याउँदा रगत भण्डारणको मापदण्ड पालना नहुने गरेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको मत छ ।
रगतको संकलन, भण्डारण, प्रशोधन र वितरणमा मापदण्ड पालना नगरिंदा एवं नियमन नहुँदा बिरामीको जीवनमाथि नै खेलबाड भइरहेको देखिन्छ ।