कोशीका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा
काठमाडौं, ४ मंसिर । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन थुनामा रहने भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा राख्न अदालतबाट पाएको म्याद सकिएपछि अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
परिसरका एक प्रहरी अधिकारीका अनुसार, अदालतले पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत कात्तिक दोस्रो साता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि पूर्वमन्त्री अधिकारी अनुसन्धानको दायरामा परेका हुन् ।