स्थानीय तह उपनिर्वाचन: उम्मेदवारको नामावली प्रकाशन आज

स्थानीय तह उपनिर्वाचन: उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौं, ५ मंसिर । १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ । 

आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने छ ।

मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

यसअघि हिजो (मंगलबार) उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गरिएको थियो । ४४ पदका लागि भएको मनोनयनमा जम्मा दुईवटा उजुरीमात्रै परेका थिए ।

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।