रास्वपा लक्षित ओलीको प्रश्न: सहकारी ठगी गरेर अरुलाई गाली गर्ने ?
काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।
आज (शुक्रबार) काठमाडौँको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताएका हुन् ।
‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’ प्रधानमन्त्री ओलीले भने ।
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर इंकित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’ प्रधानमन्त्री ओलीले भने ।
उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको दाबी समेत गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ उनले भने ।