राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प
काठमाडौं, ७ मंसिर । राहदानी वितरणको प्रक्रिया अनिश्चित कालका लागि ठप्प भएको छ । २ दिनयता सेवाग्राहीले नयाँ राहदानी बनाउने काम ठप्प भएको छ ।
राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको काम ठप्प भएको हो ।
काम ठप्प हुँदै तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित बनेका छन् । हिजो (बिहीबार)देखि नै राहदानी वितराणको सबै कामकाज ठप्प भएको छ ।
शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको विभागले जनाएको छ ।
समूहले कम्तीमा ९ मंसिरसम्म यो समस्या समाधान नहुने प्रारम्भिक निष्कर्ष निकाले पत्रमा भनिएको छ ।
१० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न विभाग प्रयासरत रहेको पनि जनाएको छ । यद्यपी,अधिकारीहरु १० गतेसम्म पनि प्रणालीको समस्या हल हुनेमा भने आशावादी देखिएका छैनन् ।