कस्तो बन्यो स्थानीय तह उपचुनावको मतपत्र ?

कस्तो बन्यो स्थानीय तह उपचुनावको मतपत्र ?

काठमाडौं, ९ मंसिर । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले केही जिल्लामा त मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जानकारी दिइन् ।

उनका अनुसार, २ लाख ५९ हजार मतपत्र छापिएको छ । शनिबार मतपत्र छाप्ने काम सम्पन्न भएको छ । उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरेर मतपत्र तयार गरिएको छ । स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि बेग्लाबेग्लै मतपत्र बनाइएका छन् ।

सेतो रङको पृष्ठभूमिमा रातो रंगका अक्षर र चुनाव चिह्न मतपत्रमा प्रयोग गरिएको छ । उम्मेदवार संख्याको आधारमा प्रत्येक पालिकामा चुनाव चिह्नको संख्या फरक-फरक छन् ।

कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि बनाइएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् । सबैभन्दा माथिल्लो लहरमा क्रमशः नेकपा एमालेको, नेपाली कांग्रेसको, माओवादी केन्द्रको र राप्रपाका चुनाव चिह्न राखिएका छन् ।

सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षको चुनावको लागि तयार गरिएको मतपत्रमा छन् । माओवादी र एमाले(काग्रेस गठबन्धनको मात्रै प्रतिस्पर्धा त्यहाँ  भएकोले दुईवटा चिह्नमात्रै समावेश गरिएका छन् । त्यहाँको मतपत्रमा रुख र हसियाँ हथौडा चिह्नमात्रै छ । कांग्रेससँग तालमेल गरेको एमाले रुख चिह्नमा चुनाव लड्ने तय छ ।

आयोगका अनुसार, ४१ पदका लागि ३७६ जना उम्मेदवार उपनिर्वाचनमा भिड्ने भएका छन्। १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् ।

उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध  विजयी भइसकेका छन् 

यसैगरी, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।