बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

काठमाडौं, ९ मंसिर ।  नेकपा एमालेले काठमाडौं महानगरपालिकाद्वारा तोकिएको एक लाख जरिवाना व्यहोराको पत्र प्राप्त नभएको बताएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ ।

यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।

काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताए । ‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन, हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’  अधिकारीले भने ।  

सभा सकिएलगत्तै आफैं सफा गरेकाले महानगरपालिकाले सामाजिक सन्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनको टिप्पणी छ । 

‘हामीले कार्यक्रम गर्‍यौं, आफैं सफा पनि गर्‍यौं । त्यसैले पत्रको जवाफ दिइरहनु पर्दैन,’ अधिकारीले भने ।
मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी एमालेले गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भन्दै सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।