रवि लामिछानेलाई पाँचौं पटक म्याद थपका लागि अदालत उपस्थित गराइयो
पोखरा, ९ मंसिर । सहकारी रकम हिनामिना प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।
गत कात्तिक २५ गते थप गरिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको हो ।
गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीमाथि अनुसन्धान चलिरहेको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम काठमाडौंको गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछानेमाथि छ ।
पोखराको सूर्यदर्शन सहकारीबाट झण्डै ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध प्रहरीकहाँ उजुरी परेको छ ।
संसदीय छानबिन विशेष समितिले पनि उनीहरुलाई दोषी देखाउँदै थप अनुसन्धान गर्नुपर्ने सिफारिस गरेको थियो । समितिको सिफारिस लगत्तै रवि र छविलाई थुनामा राखेर प्रहरीले छानबिन गरिरहेको छ भने जीबी हालसम्म फरार छन् ।
यस्तै, चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप रवि लामिछानेमाथि लागेको छ । जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरी स्रोतका अनुसार, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रवि लामिछानेकै नाममा कुनै पनि ऋण प्रवाह भएको देखिएको छैन । तर, यी सहकारीको रकम गोर्खा मिडिया प्रालिमा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा रवि पनि जोडिएकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी भनाइ छ ।
संसद्को चौथो ठुलो दल रास्वपाले भने पार्टी सभापति लामिछानेको पक्राउलाई राजनीति प्रतिशोध भन्दै विरोध प्रदर्शन गदै आइरहेको छ ।