महानगरले इमेल र हुलाकबाट पठायो एमालेलाई १ लाख जरिवानाको पत्र

महानगरले इमेल र हुलाकबाट पठायो एमालेलाई १ लाख जरिवानाको पत्र

काठमाडौं, १० मंसिर । काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको पत्र इमेल र हुलाकमार्फत सत्ताको नेतृत्वमा गरिरहेको दल नेकपा एमालेलाई पठाइएको छ ।

 मेयर बालेन शाहको सचिवालयका एक सदस्यका अनुसार, पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् एमालेलाई पत्र पठाइएको हो । 

एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो ।

हिजो (आइतबार) उक्त जरिवानाको पत्र पुर्‍याउन महानगरको टोली आफैं पार्टी कार्यालय पुगेको थियो। तर, उक्त कार्यक्रमको आयोजक पार्टी केन्द्र नभएको भन्दै जरिवान पत्र बुझ्न मानेको थिएन । 

एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा सभा गरिएको थियो । 

महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा भनिएको छ । 

आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले बताए ।