मानव तस्करीमा मुछिएका लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति, मुद्दा नचलाइने
काठमाडौं, १० मंसिर । मानव तस्करीको आरोपमा अनुसन्धान गर्न पक्राउ गरिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरिएको छ ।
मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको जिल्ला न्यायाधीवक्ता सिताराम रिजालले जानकारी दिए ।
बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको उनले बताए । उनले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई मुख्य आधार बनाएर पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरिएको हो ।
सरकारी वकिलले अधिकारीविरुद्ध मुद्दा नचलाउन विमानस्थलको सीसी टीभी फुटेजलाई आधार बनाएको छ ।
विमानस्थलको सीसी टीभी फुटेजमा पनि उनी अन्य तीन युवासँगै गएको नदेखिएको भनिएको छ ।
गत ११ कात्तिकमा पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै मन्त्रिपरिषद्को स्वीकृती समेत नलिई जापान उडेका थिए ।
तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।
सोही क्रममा मन्त्री अधिकारीसहित चारै जनालाई होल्ड गरेर जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सुम्पिएको थियो ।
यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेसमेत समातिएका थिए ।
त्यसपछि प्रहरीले थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै पूर्वमन्त्री अधिकारीलाई २५ कात्तिकमा विराटनगरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।