धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
काठमाडौं, १० मंसिर । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । आज (सोमबार) को मन्त्रिपरिषद् बैठकले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्डकै दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित उनलाई पनि अध्यक्ष सिफारिस समितिले सिफारिस गरेको थियो ।
उनले यसअघि नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समेत रहेर काम गरिसकेका छन् । स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ विभिन्न वित्तीय संस्थामा सञ्चालक रहेर पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
२०८० पुस २० मा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । त्यसपछि सरकारले नियुक्तिका लागि योजना आयोगका उपाध्यक्ष संयोजकत्वमा सिफारिस समिति गठन गर्यो । गठित सिफारिस समितिले फागुनमै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । १९ जनाको आवेदन परेकामा समितिले ५ जनालाई सर्टलिस्टमा छनोट गरेको थियो ।
नेप्सेका सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ तथा बोर्डका दुई कार्यकारी निर्देशक डा। नवराज अधिकारी र मुक्ति श्रेष्ठ सर्टलिस्टमा छनोट भएका थिए ।
सर्टलिस्टमा परेकामध्ये दुई जना मुक्तिनाथ र सन्तोषनारायणले असारको पहिलो साता नै अन्तर्वार्ता तथा कार्ययोजना पेश गरेका थिए । तर, बाँकी तीन जना अधिकारी, कार्की र चापागाईंलाई अर्थ मन्त्रालयले दुई पटक अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि डाँकेको थियो । त्यसमा तीनै जना सहभागी भएनन् ।
सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गर्नुपर्ने व्यवस्था धितोपत्र सम्बन्धी ऐनमा उल्लेखित छ ।
त्यसपछि सरकारले नयाँ प्रक्रिया प्रारम्भ गर्न अर्को सिफारिस समिति गठन गरेको थियो । तर, त्यो प्रक्रिया रोक्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । अध्यक्ष नियुक्तिको पुरानो प्रक्रिया चलिरहेको अवस्थामा नयाँ प्रक्रिया सुरु नगर्न भन्दै सर्वोच्चले अन्तरिम आदेश दियो। यसको पेशी माघ ३० गतेका लागि तोकिएको छ ।
प्रचण्ड नेतृत्वको सरकार ढलेपछि केपी ओली नेतृत्वको नयाँ सरकार बनेपछि सरकारले अध्यक्ष नियुक्तिको पुरानै प्रक्रियालाई फेरि ब्यूँताएको थियो ।
त्यसपछि सरकारले यसअघि अन्तर्वार्तामा अनुपस्थित रहेका तीन जना उम्मेदवारलाई पुनः अन्तर्वार्ता र कार्ययोजना पेश गर्न बोलाएको थियो । पछिल्लो अन्तर्वार्तामा पनि एक उम्मेदवार चापागाईं अनुपस्थित रहे भने दुई उम्मेदवार कार्की र अधिकारीले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरे ।
सिफासिर समितिले आइतबार मात्रै तीन जना उम्मेदवारहरू नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तिनै तीन नाममध्येबाट श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्डले नयाँ अध्यक्ष पाएपछि यसअघि रोकिएका धेरैवटा काम अघि बढ्ने अपेक्षा लिएको छ । बोर्ड नेतृत्वविहीन भएपछि धितोपत्र बजारको नियमन प्रभावकारी रूपमा हुन सकिरहेको छैन । त्यस्तै सानातिना निर्णय गर्न समेत कर्मचारीले हात कमाउने अवस्था आइलागेको थियो ।
बोर्डको पाइपलाइनमा ७७ कम्पनी आईपीओ निष्कासनका लागि छन्, अब तिनले स्वीकृति पाउने सम्भावना रहेको छ । आईपीओबाहेक ऋणपत्र, म्युचुअल फन्ड तथा हकप्रद निष्कासनको कार्य समेत अवरूद्भ हुँदैआएको छ ।
बोर्डले नयाँ अध्यक्ष पाएसँगै रोकिएका सार्वजनिक निष्कासन क्रमिक रुपमा खुल्दै जाने विश्वास पनि गरिएको छ । त्यस्तै, बजारको नियमन प्रभावकारी बनाउने र अनिर्णयको बन्दी हटाउने चुनौति नयाँ अध्यक्षसामु आएको छ ।
पछिल्लो समय नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने विषयमा बहस चलिरहेको र त्यसमा पनि उनको भूमिका महत्त्वपूर्ण हुने भनिएको छ ।