रविलाई पोखराबाट काठमाडौं ल्याउने तयारी, हवाई टिकट नपाउँदा अनिश्चित

रविलाई पोखराबाट काठमाडौं ल्याउने तयारी, हवाई टिकट नपाउँदा अनिश्चित

काठमाडौं, ११ मंसिर । सहकारी प्रकरणमा तानिएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं ल्याउने तयारी गरिएपनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । यद्यपी, अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले बताए ।

२ कात्तिकमा सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौंबाट समातिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उसहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा उनीमाथि अनुसन्धान चलिरहेको छ । 

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट समेत पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसैले लामिछानेलाई बयान गराउनका लागि काठमाडौं ल्याउन लागिएको हो । 

यस्तै, मंसिर ७ गते जिल्ला अदालत चितवनबाट पनिरविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसअघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा अनुसन्धानका लागि रुपन्देहीमा लगेर पनि बयान गराइएको थियो ।