रवि लामिछाने: पोखराबाट काठमाडौं पठाउने तयारी, यता माइतिघरमा विरोध प्रदर्शन
११ मंसिर, काठमाडौं । सहकारी रकम अपचलनको मामिलामा तानिएपछि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भइरहेकै बेला माइतिघरमा विरोध प्रदर्शन भएको छ ।
‘स्वतन्त्र समूह’ को नाममा माइतिघरमा उपस्थित भएका युवाहरुले ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका नाराहरु लगाउँदै प्रदर्शन गरेका हुन् ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा उनको संलग्नता रहेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उनलाई बयानको लागि काठमाडौं ल्याउने तयारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यसअघि रविलाई रुपन्देहीमा लगेर पनि बयान लिइएको थियो । उनीविरुद्ध चितवनबाट पनि सहकारी ठगीमा पक्राउ पुर्जी जारी भइसकेको छ ।
उनीमाथि विभिन्न सहकारीको रकम गोर्खा मिडिया प्रा.लिमार्फत अपचलन गरेको आरोप छ ।