चुडामणिको मुद्दामा विपक्षी झिकाउने सर्वोच्चको आदेश
काठमाडौं, ११ मंसिर । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा विशेष अदालतबाट दोषी ठहर गरिएका कर फर्स्योट आयोगका पूर्वपदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले उनीहरुले विपक्षी बनाएका पक्षहरुलाई झिकाउन र मुद्दाको सुनुवाईको प्रक्रिया अघि बढाउन आदेश जारी गरेको हो ।
कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य चुडामणि शर्मा र सदस्य सचिवको भूमिकामा रहेका आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले ९ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
उनीहरूलाई विगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख रुपैंया तिराउन विशेष अदालतले आदेश दिएको थियो ।जमानत बापत उक्त रकम बुझाउन नसकेपछि उनीहरू हिरासतमा गएर मुद्दाको पुनरावेदन गरेका थिए ।
पछि आफूलाई गैरकानूनी हिरासतमा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । सोही निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले मुद्दाको अर्को पक्षलाई पनि झिकाउन आदेश जारी गरेको हो ।