न्यायाधीश नियुक्तिका लागि छलफल गर्न न्यायपरिषद्को बैठक जारी
काठमाडौं, ११ मंसिर । सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक बसिरहेको छ ।
न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको पदावधि सकिन केही दिनमात्रै बाँकी रहेको पृष्ठभूमिमा परिषदको बैठक आह्वान गरिएको हो ।
सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको विषय एजेण्डामा राखिएको न्यायपरिषद् सम्वद्ध स्रोतले जानकारी दियो ।
हाल सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त छन् भने दुई जना उच्च अदालतमा मुख्यन्यायाधीशको पद रिक्त छ ।
यस्तै, उच्च अदालतभरमा १७ जना न्यायाधीशहरुको दरबन्दीसमेत खाली छ । झण्डै वर्षयता देखि नै उच्च र सर्वोच्च अदालतमा खाली रहेको स्थानमा पूर्ण रुपमा पदपूर्ति हुन सकेको छैन ।