विमानस्थलको भीड देखाएर तिललाई पहाड बनाइयो : प्रधानमन्त्री ओली
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा जानेहरुको विमानस्थलको भीड देखाएर अतिरञ्जित प्रचारबाजी गरिएको टिप्पणी गरेका छन् ।
आज सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले एयरपोर्टको भीड देखाएर अतिरञ्जित गरिएको गुनासो गरेका हुन् ।
‘एयरपोर्टमा भीड देखाउँछन् । जानेको कि आउनेको छुट्याउँदैनन्, त्यो फर्किएको चाहिँ भन्दैनन् ।’ ओलीले भने ।
रोजगारीका लागि विदेश गएकाहरु निश्चित अवधिपछि स्वदेश फर्किने भन्दै उनले विदेश जानेहरुको मात्रै भीड देखाइएको गुनासो गरे ।
‘जे पनि अतिरञ्जित गर्ने । तीलको पहाड बनाइएको छ । तील पनि चाहिँदैन । तील पनि गफैमा उत्पादन गर्छ, तिललाई ताड र ताडको पहाड बनाउँछ ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले २०७८ सालको जनगणना अनुसार २ करोड ९२ लाख जति नेपालमा र २२ लाख मानिस बाहिर रहेको तथ्यांक प्रस्तुत गरे । उनले त्यहाँ पनि सामाजिक सुरक्षा प्रबन्ध गरिने बताए ।
प्रधानमन्त्री ओलीले ६ वर्ष देशको राजनीति, अर्थतन्त्र, सामाजिक जनजीवन, सांस्कृतिक गति सहज ढंगबाट नबढेको भएपनि सामाजिक सुरक्षा अभियानले राम्रो गति लिएको बताउँदै खुसी प्रकट गरे ।