राष्ट्रिय सभा सदस्य आनन्द ढुंगानाविरुद्ध अवहेलनाको निवेदन
काठमाडौं, ११ मंसिर । न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा असम्बन्धित न्यायाधीशको कार्यसम्पादनबारे प्रश्न उठाएको भन्दै राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरिएको छ ।
अधिवक्ता त्रिलोक बहादुर चन्द लगायतले उनीमाथि अवहेलनामा कारबाही गर्नुपर्ने मागसहित निवेदन दर्ता गराएका हुन् । गत साता दायर गरिएको निवेदनउपर सर्वोच्च अदालतमा मंगलबार प्रारम्भिक सुनुवाई हुनुपर्ने थियो ।
२३ कात्तिकमा न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको संसदिय सुनुवाईका क्रममा संसदीय सुनुवाई समितिका सदस्य समेत रहेका ढुंगानाले गण्डकी प्रदेशसभाको विवादका क्रममा न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले गरेको आदेशमाथि सवाल उठाएका थिए ।
दलहरूप्रति झुकाव राख्ने व्यक्ति पनि न्यायाधीश भएमा न्यायपालिका प्रवेश गरेपछि राजनीतिक चप्पल फुकाल्नुपर्ने बताउँदै उनले उक्त आदेशमाथि प्रश्न गरेका थिए ।
असम्बन्धित न्यायाधीशले गरेको आदेशका वारेमा प्रस्तावित न्यायाधीशलाई प्रश्न सोधेको र त्यस्ता गतिविधीले न्यायपालिकाको मर्यादामा प्रहार भएको बताउँदै अवहेलनामा कारबाही हुनुपर्ने माग निवेदनहरुले राखेका छन् ।
सो निवेदन मंगलबार न्यायाधीश शारंगा सुवेदीको इजलासमा पेश तोकिएको थियो । गण्डकी प्रदेशसभाको मुद्दामा उनले समेत फैसला गरेकाले त्यसै विषयसँग सम्बन्धित विषयको अवहेलना निवेदन उनले ‘हेर्न नमिल्ने’ भयो ।
आज अपरान्हसम्म उक्त निवेदन सुनुवाईको अर्को मिति भने तोकिएको छैन ।