एमालेले सभा गरेको भोलिपल्ट २ ट्रक फोहोर संकलन: वेस्ट म्यानेजमेन्ट
काठमाडौं, १२ मंसिर । क्लिन काठमाडौं वेस्ट म्यानेजमेन्ट प्रालिले ७ मंसिरमा सत्तारुढ नेकपा एमालेले दरबारमार्गमा गरेको जागरण सभाको भोलिपल्ट बिहान २ ट्रक फोहोर संकलन भएको बताएको छ ।
महानगरले ८ मंसिर बिहान वडा नम्बर १ दरबारमार्गको सरसफाइ, फोहरमैला संकलन र दुवानी कार्य सम्बन्धबारे क्लिन काठमाडौंलाई सवाल सोधेको थियो ।
क्लिन काठमाडौंले महानगरपालिकालाई लेखेको पत्र अनुसार ६.७५ टन क्षमताका टिपर प्रयोग गरी २ ट्रक फोहोर संकलन गरेर बन्चरेडाँडा ल्यान्डफिल साइट लगिएको थियो ।
दरबारमार्ग क्षेत्रबाट रक्सीका बोतल, पार्टीका झन्डा, प्लास्टिक, बदामका खोस्टा समेत संकलन गरेको क्लिन काठमाडौंले जनाएको छ ।
‘बिहान ४ बजेदेखि सफाइकर्मी परिचालन गरिएको थियो । सार्वजनिक संवेदनशीलता भएका स्थानमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झन्डा, चुरोटका ठुटा, बिरुवाका हाँगा तथा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियर क्यान संकलन गरिएको जानकारी गराउन चाहन्छौं,’ पत्रमा उल्लेख गरिएको छ ।