कालिमाटीमा मृत भेटिएकी महिलाको पोष्टमार्टम रिपोर्ट: मृत्युको कारण ‘कलेजोसम्बन्धी रोज’
काठमाडौं, १३ मंसिर । काठमाडौंको कालीमाटीस्थित सडकमा मृतअवस्थामा भेटिएकी महिलाको हत्या नभएको खुलेको छ ।
उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती मृत फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो । अस्पतालल पोष्टमार्टम रिपोर्टबारे प्रहरीलाई जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार, सुर्खेतीको हत्या नभएर कलेजो रोगबाट मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
‘कज अफ डेजमा लिभर डिजिज उल्लेख छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । सडकमा मृतअवस्थामा फेला परेकी ती महिलाको शव बोकेर एक युवकले सडक पार लगेका थिए ।
महिलाको शव बोकेर फालेको आरोपमा पक्राउ बझाङको बित्थडचिर गाउँपालिका–९ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ८ मंसिरमा कुलेश्वरबाट नियन्त्रणमा लिएको थियो । ८ मंसिरको बिहान कालीमाटीस्थित संगीतकारमार्गमा एक महिलाको शव फेला परेको थियो ।
नाम, थर र वतन नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा सीसीटीभी फुटेजमा युवकले महिलालाई बोकेर त्यहाँ फालेको देखिएको थियो ।
पक्राउ गरिएका मल्लविरुद्ध यसभन्दा अगाडि ९ पटकसम्म विभिन्न कसुरमा मद्दा चलेको थियो ।